काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशन प्रतिनिधि छनोटको समयतालिका तय गर्दै सदस्यता प्रमाणीकरण र नामावली प्रकाशनसम्बन्धी निर्णय गरेको हो ।
समितिका अनुसार सक्रिय सदस्यको विवरण प्रविष्ट गर्ने समय बुधबार रातिदेखि बन्द भइसकेको छ । प्रविष्ट भएका सदस्यको तोकिएको शुल्क कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्नेछ । सदस्यताको विवरणमा फोटो छुटेको भए सोही मितिभित्र उपलब्ध गराउनुपर्नेछ । अन्यथा सम्बन्धित सक्रिय सदस्यको आवेदन अस्वीकृत हुन सक्ने समितिले जनाएको छ ।
यसअघि तय गरिएको कार्यतालिकामा सामान्य संशोधन गर्दै स्वीकृत सक्रिय सदस्यको नामावली कात्तिक ३० गते सार्वजनिक गर्ने निर्णय भएको छ । प्रकाशित नामावलीमाथि मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिनेछ ।
त्यसपछि मंसिर ४ देखि १० गतेसम्म पार्टीको विधान र निर्वाचन निर्देशिकाबमोजिम योग्य सक्रिय सदस्यबाट प्रदेशसभा निर्वाचन क्षेत्रअनुसार महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ ।
छनोट भएका प्रतिनिधिको तस्बिरसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।








