काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित सूचना उपलब्ध गराउने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी सार्वजनिक गरेको हो । इरानले आणविक हतियार विकास गर्ने प्रयासलाई रोक्न अमेरिकी सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको आधिकारिक वेबसाइटका अनुसार इरानका आणविक केन्द्र, त्यहाँ प्रयोग हुने उपकरण तथा प्रविधि, वैज्ञानिक र आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्तिबारे विश्वसनीय सूचना दिनेले उक्त पुरस्कार पाउन सक्नेछन् ।
त्यस्तै, आणविक उपकरणको आपूर्ति तथा एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने कार्यमा संलग्न व्यक्तिबारे जानकारी दिनेहरू पनि पुरस्कारका लागि योग्य हुने बीबीसीले जनाएको छ ।
सूचना दिने व्यक्तिको सुरक्षालाई ध्यानमा राख्दै आवश्यकताअनुसार उनीहरूलाई अर्को स्थानमा पुनर्वास गराउने विकल्पसमेत अमेरिकाले अघि सारेको छ ।








