काठमाडौं । सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटसहित तीन जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले ४७ किलो ८७० ग्राम शंकास्पद पदार्थ बरामद गरेको हो ।

शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्दा भन्सार छली ल्याइएका सामानसँगै जुटको बोराभित्र प्याक गरिएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मिनी ट्रक चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार शाह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कात्तिक राजवंशी रहेका छन् ।

प्रहरीका अनुसार बरामद पदार्थ प्रारम्भिक रूपमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो देखिएपछि परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशी पठाइएको थियो ।

प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा नमुनामा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ । परीक्षण प्रतिवेदनका आधारमा उक्त घटनामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईका अनुसार बरामद पदार्थ कात्तिक १० गते नियन्त्रणमा लिइएको थियो । परीक्षण प्रतिवेदन प्राप्त भएपछि प्रहरीले शनिबार घटनाबारे सार्वजनिक गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय