काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शनिबार लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

साविक विजेता लुम्बिनी लायन्स यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । तर विराटनगर किंग्सका लागि भने आजको खेल निकै महत्वपूर्ण छ । प्लेअफको सम्भावना जीवित राख्न विराटनगरले लुम्बिनीलाई हराउनैपर्ने दबाब छ ।

अंकतालिकामा लुम्बिनी ६ खेलबाट चार जित, एक हार र एक खेलमा अंक बाँड्दै ९ अंकसहित दोस्रो स्थानमा छ । विराटनगर भने समान ६ खेलबाट तीन जित र तीन हारसहित ६ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

लिग चरणको अन्तिम खेल खेल्न लागेको विराटनगर आज पराजित भए प्लेअफ दौडबाट बाहिरिनेछ । त्यस अवस्थामा प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । तर विराटनगरले जित निकालेको खण्डमा भने प्लेअफको समीकरणका लागि काठमाडौं गोर्खाज र चितवन राइनोजको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

यसअघि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । काठमाडौं गोर्खाज र चितवन राइनोज पनि प्लेअफको प्रतिस्पर्धामा छन् । यी दुई टोलीको एक–एक खेल बाँकी छ ।

हाल अंकतालिकामा सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनी ९ अंकसहित दोस्रो, काठमाडौं गोर्खाज ८ अंकसहित तेस्रो र चितवन राइनोज ७ अंकसहित चौथो स्थानमा छन् । विराटनगर ६ अंकसहित पाँचौँ स्थानमा छ ।

आजको खेल लुम्बिनीका लागि शीर्ष दुईभित्रको स्थान बलियो बनाउने अवसरसमेत हो । विराटनगरलाई भने प्लेअफको आशा कायम राख्न जित आवश्यक छ ।

यता कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय