काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन गएकाहरूलाई भ्रमण खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन् ।
टर्किएमा जारी सम्मेलनमा सहभागी हुने व्यक्तिहरू सरकारी खर्चमा गएका हुन् वा व्यक्तिगत खर्च तथा संस्थागत प्रायोजनमा पुगेका हुन् भन्ने विषय स्पष्ट हुनुपर्ने उनको माग छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले कोप सम्मेलनमा सहभागी हुनु सिकाइ र अनुभवका दृष्टिले महत्त्वपूर्ण भए पनि व्यक्तिगत इच्छाका लागि सरकारी रकम खर्च गर्न नहुने बताएका छन् ।
उनले वातावरण विषयका विद्यार्थी तथा यस क्षेत्रमा रुचि राख्नेहरूका लागि कोप सम्मेलन प्रत्यक्ष रूपमा बुझ्ने र सिक्ने राम्रो अवसर भएको उल्लेख गरेका छन् । तर, सम्मेलनमा सहभागी हुने नाममा राज्यकोषको रकम व्यक्तिगत चाहना पूरा गर्न प्रयोग गर्न नहुने उनको तर्क छ ।
कार्कीले सम्मेलनको निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिले पनि त्यहाँका गतिविधि र विषयवस्तुबारे अन्य माध्यमबाट जानकारी लिन सक्ने बताएका छन् ।
यसपटक पनि कोपमा सहभागी हुन नेपालीहरूको ठूलो सङ्ख्या टर्किए पुगेको र पुग्ने क्रममा रहेको उल्लेख गर्दै उनले सबै सहभागीलाई आफ्नो भ्रमण खर्च कसले व्यहोरेको हो भन्ने कुरा सार्वजनिक गर्न आग्रह गरेका छन् ।
‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नैपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
टर्किएमा जारी कोप–३१ सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमणलगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलन नोभेम्बर २० अर्थात् मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ ।








