काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन् ।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन । जुन पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ,’ देउवाले भने ।

कांग्रेस नेपाली जनताले निर्माण गरेको पार्टी भएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधिबाहेक अरू कसैले पार्टीलाई आफ्नो नियन्त्रणमा लिन नसक्ने दाबी गरे ।

सम्बोधनका क्रममा देउवाले अदालतप्रति आफूलाई विश्वास रहेको पनि बताए । पार्टीको आधिकारिकतासम्बन्धी विवाद र चर्चामा रहेको १८ करोड रुपैयाँको विषय उल्लेख गर्दै उनले अदालतबाट निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, उनले २०८२ भदौ २३ र २४ गतेका घटनालाई षड्यन्त्रको संज्ञा दिँदै लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूका सन्तान तथा आश्रमसमेत छानीछानी जलाइएको दाबी गरे ।

देउवाले कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सन्तान आफूहरूसँगै रहेको उल्लेख गर्दै सुवर्णशमशेरका नातिहरूसँग पनि संवाद गर्ने बताए ।

पार्टीको वर्तमान विवादका बीच देउवा समूहले छुट्टै संगठनात्मक गतिविधि तथा महाधिवेशनको तयारीलाई अघि बढाइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय