काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार लामो समय टिक्न नसक्ने दाबी गर्दै सरकारविरुद्ध राजनीतिक आन्दोलनको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने धारणा राखे । उनले सरकारविरुद्धको आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले सरकार र सत्तारूढ दलका नेताहरू सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाए । यस्ता आरोप लागेका दल र नेताहरू सहभागी सरकारको आयु लामो नहुने उनको दाबी थियो ।

सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचना थप बलियो बनाउनुपर्ने उनले बताए । साथै, सरकारका गतिविधि तथा आफूले अलोकतान्त्रिक ठानेका कामहरू प्रविधिको माध्यमबाट आम नागरिकसम्म पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।

बस्नेतले आन्दोलनलाई अघि बढाउन आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताए ।

एमालेले स्थानीय कमिटीहरूलाई सुदृढ बनाउँदै स्थानीय तह र प्रदेश तहका आगामी निर्वाचनको तयारीमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो । संगठन विस्तार, राजनीतिक सहकार्य र आन्दोलनलाई व्यवस्थित गर्दै पार्टी अघि बढ्नुपर्ने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय