काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इनम सापकोटाको सम्पर्क र सम्बन्ध वर्तमान सरकार पक्षसँगै रहेको आरोप लगाएका छन् ।

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सापकोटाको सम्बन्ध सरकार पक्षका व्यक्ति तथा समूहसँग देखिएको दाबी गरेका हुन् ।

ओलीले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै प्रहरी, कर्मचारी र उद्यमी व्यवसायीसमेत विभाजित मनस्थितिमा रहेको टिप्पणी गरे । सरकारको गतिविधिले विभिन्न क्षेत्रका व्यक्तिहरूमा असन्तुष्टि बढेको उनको भनाइ थियो ।

‘अहिले इनम सापकोटा भन्ने नचाइरहेका छन् । जताबाट हेर्‍यो, इनम सापकोटा उनीहरूकै देखिन्छ । सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ, उनीहरूकै देखिन्छ,’ ओलीले भने ।

उनले वर्तमान सरकारको उत्पत्ति र कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । एमाले समाप्त भएको भन्नेहरूलाई आन्दोलन र निर्वाचनमार्फत जवाफ दिनुपर्ने उनले कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले एमाले देशको सही विचार बोकेको, संगठित र प्रभावशाली पार्टी भएको दाबी गर्दै पार्टीलाई थप सुदृढ बनाउनुपर्ने बताए ।

पार्टीभित्रै बसेर पार्टीविरुद्ध गतिविधि गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिँदै उनले पार्टीमा रहनेले पार्टीकै पक्षमा उभिनुपर्ने धारणा राखे । पार्टीको नीति र निर्णयविपरीत काम गर्ने नेता तथा कार्यकर्तामाथि सम्बन्धित जिल्लाबाटै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्यका आधारमा कारबाही प्रक्रिया अघि बढाउन उनले निर्देशन दिए ।

ओलीले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनका लागि तयार रहनसमेत एमालेका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय