काठमाडौँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार र सदस्य राष्ट्रबीचको सहकार्यलाई तीव्रता दिँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता तथा प्रविधिगत आत्मनिर्भरता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनको आतिथ्यमा शुक्रबार डब्लिनमा सम्पन्न ईयू नेताहरूको अनौपचारिक बैठकमा एआईको सम्भावना, यसको सामाजिक प्रभाव, सुरक्षा र नियमनका विषयमा छलफल भएको थियो। बैठकमा युक्रेनमा जारी युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासमा युरोपको भूमिका पनि प्रमुख एजेन्डाका रूपमा उठेको थियो।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले एआई प्रविधिको विकास र प्रयोगलाई तीव्रता दिनुका साथै महत्वपूर्ण प्रविधिमा बाह्य निर्भरता घटाउनुपर्नेमा जोड दिए। यसका लागि सार्वजनिक तथा निजी क्षेत्रबाट ठूलो मात्रामा लगानी परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा युरोपको एआई क्षमता विस्तार, आवश्यक पूर्वाधार निर्माण, प्रविधिको मूल्य शृङ्खला सुदृढीकरण र अर्थतन्त्रका विभिन्न क्षेत्रमा एआईको प्रयोग बढाउने विषयमा छलफल भएको युरोपेली परिषद्ले जनाएको छ।

एआई प्रविधिका अवसरसँगै यसले समाज, श्रम बजार, लोकतान्त्रिक प्रक्रिया, बालबालिकाको अधिकार तथा साइबर सुरक्षामा पार्न सक्ने प्रभावबारे पनि नेताहरूले विचार आदानप्रदान गरेका थिए। प्रविधिको विकास सुरक्षित, जिम्मेवार र मानवकेन्द्रित बनाउन प्रभावकारी नियमन तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा उनीहरूको जोड थियो।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले आगामी दीर्घकालीन बजेट र प्रस्तावित युरोपेली प्रतिस्पर्धात्मकता कोषले प्रविधिगत क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। बैठकमा एआईको प्रभाव र यसबाट सिर्जना हुने अवसर तथा चुनौतीबारे आगामी दिनमा पनि छलफल जारी राख्ने सहमति भएको छ।

यसैबीच, युक्रेनमा जारी युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा युरोपको एकीकृत प्रतिनिधित्व सुनिश्चित गर्न ईयूका संस्थाहरू र पाँच युरोपेली मुलुक सम्मिलित संयुक्त टोली बनाउने सहमति भएको छ।

कोस्टाका अनुसार उक्त टोलीमा युरोपेली संघका संस्थासँगै फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड र बेलायत सहभागी हुनेछन्। टोलीले युक्रेनसम्बन्धी कूटनीतिक प्रयासमा युरोपको साझा धारणा प्रस्तुत गर्नेछ।

युरोपेली नेताहरूले युक्रेनको भविष्य र क्षेत्रीय सुरक्षासँग सम्बन्धित निर्णयमा युरोपको भूमिका महत्वपूर्ण हुने बताएका छन्। कोस्टाले युक्रेनको भूभाग र सार्वभौमिकतासम्बन्धी विषयमा निर्णय गर्ने वैध अधिकार युक्रेनकै रहेको स्पष्ट पारेका छन्।

युक्रेनलाई सन् २०२७ र त्यसपछिका वर्षमा आवश्यक पर्ने आर्थिक सहयोगबारे आगामी नोभेम्बर २६ र २७ मा हुने ईयू परिषद्को बैठकमा छलफल गरिने पनि उनले जानकारी दिएका छन्। त्यसअघि युरोपेली आयोगले युक्रेनको वित्तीय आवश्यकतासम्बन्धी प्रस्ताव अघि सार्ने तयारी गरेको छ।

यसअघि बिहीबार डब्लिनमै सम्पन्न नवौँ युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलनमा पनि युरोपेली नेताहरूले क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता र युक्रेन युद्धको शान्तिपूर्ण समाधानका विषयमा छलफल गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय