काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशनका लागि मंसिर ४ गतेदेखि प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रदेशसभा निर्वाचन क्षेत्रका योग्य सक्रिय सदस्यहरूमध्येबाट मंसिर १० गतेभित्र प्रतिनिधि चयन गरिसक्ने कार्यतालिका बनाएको छ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुनेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिनेछ। प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिला तीन जना, उत्पीडित समुदायबाट एक जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जना गरी कुल नौ जना प्रतिनिधि चयन गरिने व्यवस्था रहेको पार्टीले जनाएको छ।
प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको सहभागिता पनि सुनिश्चित गर्नुपर्नेछ। हिमाल, पहाड र तराई क्षेत्रको प्रतिनिधित्वसमेत विधान तथा निर्वाचन निर्देशिकाले तोकेको मापदण्डअनुसार मिलाइने प्रवक्ता श्रेष्ठले बताएका छन्।
यसैबीच, पार्टीको केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यको स्वीकृत नामावली कात्तिक ३० गते सार्वजनिक गर्ने र त्यसउपर मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिने व्यवस्था गरेको छ। छनोट भएका प्रतिनिधिको तस्बिरसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र निर्वाचन समितिमा पठाउनुपर्नेछ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६ गतेदेखि काठमाडौँमा आयोजना गर्ने तयारी छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले विभिन्न तहका अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाएको हो।








