काठमाडौँ । मकवानपुरको हेटौँडाबाट सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शनिबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। उनीहरू सवार अटो जाँच गर्ने क्रममा हतियार फेला परेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।
जाँचका क्रममा ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरिएको छ।
पक्राउ परेका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।








