अछाम । अछामको ढकारी गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ढकारी गाउँपालिका–१, बासल्लाका ३२ वर्षीय बिर्खे बुढा रहेका छन् । उनीसँगै भिरबाट खसेका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय सालटोक्टा बजारबाट घर फर्किने क्रममा शुक्रबार साँझ उनीहरू बासल्लानजिकैको भिरबाट करिब १५० मिटर तल खसेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरिदत्त भट्टको नेतृत्वमा तीन सदस्यीय टोली उद्धारका लागि खटिएको थियो । उद्धारपछि दुवै जनालाई स्थानीय स्वास्थ्य चौकी ढकारीमा प्राथमिक उपचार गरिएको थियो ।

प्राथमिक उपचारपछि गणेश बुढा डिस्चार्ज भएका थिए भने गम्भीर घाइते बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लगिएको थियो । उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बमले जानकारी दिएका छन् ।

बिर्खेको अनुहार, छाती तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनको शव जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय