जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि मुख्यमन्त्री यादवले सदनबाटै राजीनामा घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको उल्लेख गर्दै पद त्याग्ने निर्णय लिएको बताए ।
सत्ता साझेदार दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए । त्यसपछि नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनको नेतृत्वको सरकार थप संकटमा परेको थियो ।
दुई प्रमुख दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विभिन्न दलसँग बहुमत जुटाउने प्रयास गरे पनि सफल हुन सकेनन् । यही परिस्थितिमा उनले राजीनामाको घोषणा गरेका हुन् ।
मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि जनता समाजवादी पार्टी नेपाल, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच छलफल भइरहेको छ । जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति जुटाउने प्रयास भए पनि पार्टीभित्रै नेतृत्वको विषयलाई लिएर मतभेद देखिएको छ ।
यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नयाँ सरकारमा आफ्नो पार्टी सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ ।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।








