हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रहरीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुर र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा चालकले भाग्न खोजेपछि ब्युरोको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि अटोमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन् ।
उनीहरूको साथबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र सोही क्यालिबरको एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।








