काठमाडौं । नेपालको सबैभन्दा ठूलो कृषि यन्त्रीकरण प्रदर्शनी ‘एग्री मेक इन्टरनेसनल एक्सपो २०२६’ आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
मंसिर ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि मेसिनरी, उपकरण र आधुनिक प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ।
‘कृषिको यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा हुन लागेको प्रदर्शनीको मुख्य उद्देश्य कृषिलाई व्यावसायिक बनाउनु, आधुनिक उपकरणको प्रयोग बढाउनु र उत्पादन लागत घटाउनु रहेको छ।
संघका अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै कृषि व्यवसायको प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा किसान, नीतिनिर्माता, राजनीतिक दलका नेता, सरकारी कर्मचारी, अनुसन्धानकर्ता, विद्यार्थी तथा कृषि उद्यमी र व्यवसायीको सहभागिता रहनेछ। आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरेको छ।
अध्यक्ष शर्माका अनुसार नेपालमा वार्षिक करिब १२ अर्ब रुपैयाँबराबरको कृषि मेसिनरी कारोबार हुँदै आएको छ। ठूला प्रकृतिका कृषि मेसिन अधिकांश विदेशबाट आयात हुने गरे पनि थ्रेसर, ड्रायरलगायत केही उपकरण भने स्वदेशमै उत्पादन हुँदै आएका छन्।
नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आबद्ध रहेकाले आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने आयोजकको विश्वास छ। यसले कृषि क्षेत्रको विकाससँगै समग्र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने दुई हजारभन्दा बढी प्रकारका कृषि उपकरण तथा प्रविधि प्रदर्शन गरिनेछ। त्यसका लागि २०० भन्दा बढी स्टल राखिने आयोजकले जनाएको छ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ र राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र आयोजक रहेको प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजकका रूपमा रहेको छ।
कृषि उद्यम गर्न चाहने युवा, नयाँ उद्यमी तथा किसानलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।








