काठमाडौं । चितवनका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्याउन माग गरेका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार पत्रकार सम्मेलन गर्दै हाल प्रतिलिटर ६५ रुपैयाँमा बिक्री हुँदै आएको दूधको मूल्य बढाएर ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेको हो।
संघका अध्यक्ष किशोर बगालेले खाद्यान्न तथा पशु आहारको मूल्य निरन्तर बढ्दा किसान आर्थिक समस्यामा परेको बताए। प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि यस विषयमा सरकारले चासो नदेखाएको उनको गुनासो छ।
कृषि मन्त्रालयलगायत सम्बन्धित निकायमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएको भन्दै अध्यक्ष बगालेले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए।
संघका अनुसार २०७६ सालमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक करिब ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यस क्षेत्रमा करिब ४० हजार किसान दुग्ध उत्पादन व्यवसायमा संलग्न रहेको संघको दाबी छ।








