नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर सनक तथा लहडका आधारमा सञ्चालन भइरहेको आरोप लगाएका छन्।
सोमबार बाराको सिमरामा आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले सरकारले विधिसम्मत ढंगले काम गर्न नसकेको टिप्पणी गरे। उनले सरकारका निर्णयहरू संस्थागत प्रक्रिया र विधिभन्दा व्यक्तिगत सनकका आधारमा भइरहेको आरोप लगाए।
संसदीय व्यवस्थामा सरकार र प्रतिपक्षको आ–आफ्नै भूमिका हुने उल्लेख गर्दै थापाले प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए। सरकारका कामकारबाहीमाथि प्रश्न उठाएकै कारण आफूहरूमाथि षड्यन्त्र भइरहेको उनको दाबी थियो। यस्ता प्रयासबाट कांग्रेस विचलित नहुने भन्दै उनले सत्य र न्यायको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।
पार्टीको आधिकारिकता र आन्तरिक विवादसँग जोडिएका चर्चाप्रति कार्यकर्तालाई सचेत गराउँदै थापाले साना विषयमा अल्झिनुभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको उल्लेख गर्दै उनले रास्वपाको आन्तरिक मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने तर सरकारका निर्णय र कामकारबाहीमाथि प्रश्न उठाउन नछाड्ने स्पष्ट पारे।
थापाले सरकारले विवाद र अनावश्यक गतिविधिमा अल्झिनुभन्दा रोजगारी सिर्जना, अर्थतन्त्र सुधार तथा युवालाई स्वदेशमै बस्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिए। सरकारका राम्रा काम र सकारात्मक प्रस्तावमा कांग्रेसले सहयोग गर्ने उनको भनाइ थियो।
पार्टीको आन्तरिक पुनर्गठन र विशेष महाधिवेशनबारे बोल्दै थापाले समयको आवश्यकता अनुसार विद्रोह गरिएको उल्लेख गरे। अब पार्टीभित्र सबैलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए। आगामी पुसको पहिलो सातासम्म जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गरी स्थानीय निर्वाचनको तयारीमा जुट्ने योजना रहेको पनि उनले बताए।
स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा सुधार गरिने बताउँदै थापाले मनोनयनको केही घण्टाअघि मात्रै टिकट वितरण गर्ने पुरानो परिपाटी अन्त्य गरिने स्पष्ट पारे। स्थानीय तहका उम्मेदवार छनोटमा पार्टीका क्रियाशील सदस्यहरूको भूमिका निर्णायक हुने उनको भनाइ थियो। आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयसमेत उनले दोहोर्याए।
छठ पर्व मनाउन आफू मधेस आएको विषयलाई राजनीतिक अर्थमा नबुझ्न आग्रह गर्दै थापाले छठ पर्वले नेपाली समाजलाई जोड्ने सांस्कृतिक महत्त्व बोकेको बताए। छठको महिमा र सांस्कृतिक पहिचानलाई देशभर फैलाउने उद्देश्यले आफू मधेस आएको उनको भनाइ थियो। थापाले सर्लाही र पर्साका छठघाटमा पूजाआजा गरेपछि बारा पुगेका थिए।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य घनश्याम गिरी, जीतपुरसिमरा नगर सचिव प्रकाश गिरी, पूर्ववडाध्यक्ष सरोज पटेल, रामबाबु पटेललगायत नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई सभापति थापाले पार्टीमा स्वागत गरेका थिए।








