काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२८ को ग्लोबल छनोट प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। सन् २०२८ को पहिलो त्रैमासिकमा आयोजना हुने छनोट प्रतियोगिताबाट आठ टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
छनोट प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा चार टोली रहनेछन्। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल सञ्चालन हुनेछन्। प्रतियोगितामा कुल ३१ खेल हुनेछन्।
विश्वकपमा छनोट हुने आठ टोली निर्धारण गर्दा क्षेत्रीय प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ। प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीले निर्धारित न्यूनतम मापदण्ड पूरा गरेको अवस्थामा विश्वकपमा स्थान पाउनेछ। बाँकी स्थान भने प्रतियोगिताको समग्र वरीयताका आधारमा निर्धारण गरिनेछ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोलीले विश्वकपमा स्थान बनाउनेछन्। क्वार्टरफाइनलमा पराजित हुने चार टोलीलाई समूह चरणको स्थान, अंक, जित संख्या र नेट रनरेटका आधारमा पाँचौँदेखि आठौँ स्थानसम्मको वरीयता दिइनेछ।
त्यस्तै, समूहमा तेस्रो हुने टोलीलाई सोही आधारमा नवौँदेखि १२औँ स्थानसम्मको वरीयतामा राखिनेछ भने समूहमा चौथो हुने टोली छनोट प्रक्रियाबाट बाहिरिनेछन्।
क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने क्रममा कुनै क्षेत्रको उत्कृष्ट टोली सेमिफाइनलमा पुगेमा वा क्वार्टरफाइनलमा पराजित भएर पाँचौँदेखि आठौँ स्थानसम्म रहेमा उक्त क्षेत्रको प्रतिनिधित्व पूरा भएको मानिनेछ।
तर, कुनै क्षेत्रको उत्कृष्ट टोली समूह चरणमा तेस्रो हुँदै नवौँदेखि १२औँ स्थानमा रहेमा पाँचौँदेखि आठौँ स्थानमा रहेका अन्य क्षेत्रका टोलीमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको टोलीको स्थान उक्त टोलीले लिने व्यवस्था गरिएको छ।
सबै योग्य क्षेत्रको प्रतिनिधित्व सुनिश्चित भएपछि बाँकी स्थान क्वार्टरफाइनलमा पराजित भएका अन्य उच्च वरीयताका टोलीलाई प्रदान गरिनेछ।
नेपालले पनि सन् २०२८ को टी–२० विश्वकपका लागि ग्लोबल छनोट खेल्नेछ। यससँगै नेपाली टोलीलाई विश्व क्रिकेटको सबैभन्दा ठूलो टी–२० प्रतियोगितामा स्थान बनाउन अर्को अवसर प्राप्त हुनेछ।








