जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सोमबारदेखि मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। उनले जनकपुरधामस्थित जानकी मन्दिरबाट पदयात्राको सुरुवात गरेका हुन्।
पदयात्रा सुरु गर्नुअघि रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै सिंहलाई बिदाइ गरेका थिए।
सो अवसरमा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमाललाई जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
जात, लिङ्ग, धर्म, सम्प्रदाय र भूगोलभन्दा माथि उठेर सबै नेपालीलाई एकताबद्ध गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा सफल हुने विश्वास पनि उनले व्यक्त गरे।
सांसद सिंहले देशका विभिन्न स्थानमा पुगेर नागरिकका समस्या, गुनासा र जनताका आवाज प्रत्यक्ष रूपमा सुन्न पदयात्रा सुरु गरेको बताएका छन्।
पदयात्रामार्फत देशका विभिन्न भूगोल र समुदायबीच आपसी सद्भाव, एकता तथा सम्बन्ध थप मजबुत बनाउने लक्ष्य राखिएको जनाइएको छ।








