काठमाडौं । नेकपा एमालेले राष्ट्रिय भेलाको तयारी र त्यसमा प्रस्तुत गरिने विषयवस्तुबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेन्डा तथा विषयवस्तुमाथि छलफल हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
एमालेको राष्ट्रिय भेला आगामी मंसिर २ र ३ गते आयोजना हुँदैछ। उक्त भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुझाव संकलन तथा तयारीका विषयमा बैठक केन्द्रित रहने बताइएको छ।
आचार्यका अनुसार राष्ट्रिय भेलापछि मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको भेला आयोजना गरिनेछ भने मंसिर ५ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ।








