काठमाडौं । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा चार बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ। आइतबार अबु कल्ब गाउँमा भएको उक्त आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको छ।
स्थानीय अधिकार अनुगमन संस्था ‘कोर्डोफान अब्जर्भेटरी’का अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो। पहिलो आक्रमण गाउँको सार्वजनिक चोकमा गरिएको थियो, जहाँ बालबालिका फुटबल खेलिरहेका थिए। दोस्रो आक्रमण स्थानीयका घरलाई लक्षित गरी गरिएको थियो।
सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्ने सर्तमा एक जीवित व्यक्तिले स्याटेलाइट इन्टरनेटमार्फत घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार मृत्यु हुनेमध्ये नौ जना उनका आफन्त रहेका छन्। युद्धका क्रममा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएका छन्।
सन् २०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी युद्धका क्रममा पश्चिम कोर्डोफान क्षेत्रमा पनि भीषण संघर्ष भइरहेको छ। आरएसएफको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासमा सेनाले यस क्षेत्रमा प्रत्याक्रमण गरिरहेको छ।
सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूका अनुसार सुडानको जारी युद्धमा हालसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ। युद्धका कारण देशमा गम्भीर भोकमरी र ठूलो संख्यामा मानिस विस्थापित हुने संकटसमेत उत्पन्न भएको छ।
संयुक्त राष्ट्रसंघले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। राष्ट्रसंघका अनुसार सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। यस वर्ष बालबालिकासम्बन्धी भएका हताहतीमध्ये करिब दुई तिहाइ घटनामा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसंघले जनाएको छ।








