काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनको स्वभाव लोकतान्त्रिक नरहेको आरोप लगाएका छन्।
राष्ट्रिय भेलाबारे जानकारी दिन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्री शाहको कार्यशैली स्वेच्छाचारी र अधिनायकवादी प्रकृतिको रहेको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग संवाद नगरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रसमेत प्रधानमन्त्रीको संवाद कमजोर भएको दाबी गरे।
‘जहाँसम्म प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग संवाद गर्ने कुरा छ, उहाँको त स्वभाव नै लोकतान्त्रिक छैन। आफ्नै पार्टीसँग त संवाद गर्न छोडिसक्नुभयो। प्रतिपक्षसँग संवाद गर्ने अपेक्षा नै हामी गर्दैनौँ,’ पोखरेलले भने।
उनले प्रधानमन्त्रीको कार्यशैली सच्याउनुपर्नेमा जोड दिँदै सरकारलाई लोकतान्त्रिक पद्धति र राजनीतिक संवादको संस्कारअनुसार अघि बढ्न आग्रहसमेत गरे।








