जाजरकोट । जाजरकोटमा पिकनिक खान गएका एक युवक भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भेरी नगरपालिका–३ पिपलडाँडाका ४३ वर्षीय बबी शाह रहेका छन्। उनी सोमबार दिउँसो भेरी नगरपालिका–१ छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका हुन्।

प्रहरीका अनुसार शाह पिकनिक खान छोटेबगर पुगेका बेला दिउँसो करिब १२ बजे नदीमा पौडी खेलिरहेका थिए। उनी बेपत्ता भएको जानकारीसँगै पिकनिकमा गएका डिल्ली रावलले दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय रिम्नालाई फोनमार्फत दिएका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्रबहादुर रानाको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो।

त्यसैगरी, बेपत्ता शाहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक विवेक रसाइलीको नेतृत्वमा ८ जना, अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट २ जना र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट ७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार बेपत्ता शाहको खोजी कार्य जारी छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय