काठमाडौं । युक्रेनले रुसका विभिन्न क्षेत्रलाई लक्षित गरी ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार एकै दिनमा १ हजार ३३६ युक्रेनी ड्रोन खसालिएका छन्। आक्रमणका क्रममा रुसको नियन्त्रणमा रहेको क्रिमिया पुलसमेत निशानामा परेको छ।

आक्रमणबाट पुलमा ठूलो क्षति पुगेको विवरण सार्वजनिक नभए पनि सुरक्षाको कारण देखाउँदै रुसी अधिकारीहरूले पुलमा सवारी आवागमन रोकेका छन्। क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले घटनामा मानवीय क्षति भएको जानकारी दिएका छैनन्।

रुसको रक्षा मन्त्रालयले उक्त ड्रोन आक्रमणलाई यस वर्ष एकै दिनमा सामना गर्नुपरेका ठूला आक्रमणमध्ये दोस्रो ठूलो भएको जनाएको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार राजधानी मस्कोतर्फ आएका करिब ६०० ड्रोनलाई रोकिएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता क्रिमिया पुल युक्रेनको प्रमुख निशानामा पर्दै आएको छ। यसअघि सन् २०२२ अक्टोबरमा विस्फोटक पदार्थ बोकेको ट्रक पुलमा विस्फोट हुँदा संरचनामा क्षति पुगेको थियो। त्यसपछि लामो समयसम्म पुलको आवागमन प्रभावित बनेको थियो।

युक्रेनले रुसी सैन्य संरचना तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरिएका आफ्ना प्रत्याक्रमणलाई रुसी आक्रमणको जवाफ भन्दै आएको छ। युक्रेनी पक्षका अनुसार रुसी आक्रमणका कारण विभिन्न सहरमा सर्वसाधारणको ज्यान जानुका साथै लाखौँ मानिस विद्युत् तथा ताप सुविधाबाट प्रभावित भएका छन्।

यसैबीच, युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास जारी रहे पनि ठोस सहमति जुट्न सकेको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेना तैनाथ गरिए त्यसलाई युद्धको निरन्तरताका रूपमा लिने चेतावनी दिएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युद्ध समाधानका नाममा आफ्नो देशको भूभागबारे अन्य शक्तिले एकपक्षीय निर्णय गर्न नहुने धारणा राख्दै आएका छन्।

युद्ध अन्त्यका लागि सम्भावित उच्चस्तरीय वार्ताको चर्चा भइरहेका बेला युक्रेन र रुसबीचको सैन्य तनाव थप चर्किएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय