काठमाडौं । एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले आज (शुक्रबार) भारत ‘ए’ को सामना गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपालका लागि फलामको च्यूराबराबर हुनेछ ।
भारतको ए टिम भए पनि यसमा अधिकांश राष्ट्रिय टिमबाट खेलिरहेका स्टार खेलाडीहरू छन् । खासगरी भारतीय ब्याटिङ पङ्ति कागजमा निकै खतरनाक देखिन्छ । कप्तान तिलक वर्मादेखि अभिषेक शर्मा, रिंकु सिंह, वैभव सूर्यवंशी र हर्षित राणासम्मका खेलाडीको संलग्नताले भारतीय टीमलाई निकै बलियो बनाएको छ ।
नेपाल भने आफ्नो पूर्ण क्षमताको टोलीसहित मैदानमा उत्रन पाउने अवस्थामा छैन । एनपीएलको प्लेअफसँग तालिका जुधेकाले नेपालले आफ्ना प्रमुख खेलाडीहरू लैजान नपाएको हो । यस्तो अवस्थामा कप्तान सन्दीप लामिछानेमाथि टोलीलाई सम्हाल्ने ठूलो जिम्मेवारी हुनेछ ।
यो खेल नेपाली टोलीका लागि केवल बलियो प्रतिद्वन्द्वीसँगको प्रतिस्पर्धा मात्र होइन, आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि हो ।
भारत ‘ए’ : आईपीएल अनुभवले भरिएको टोली
भारतले यस प्रतियोगिताका लागि घोषणा गरेको टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण छ । टोलीको कप्तानी तिलक वर्माले गर्दैछन् । आईपीएलमा मुम्बई इन्डियन्सबाट खेल्दै आएका तिलक भारतीय टी २० टिमका नियमित ब्याटर हुन् । मध्यक्रममा ब्याटिङ गर्ने उनी कुनै पनि अवस्थाबाट खेल पल्टाउने क्षमता राख्छन् ।
भारतीय टिमको ओपनिङ अभिषेक शर्मा र वैभव सुर्यवंशीले गर्ने सम्भावना छ । यो जोडीलाई अहिलेको क्रिकेटमा सबैभन्दा खतरनाक ओपनिङ जोडीकोरुपमा हेरिन्छ । उनीहरू दुईमध्ये एक जनामात्रै केही १० ओभर टिके भने विपक्षी टिमको ब्याटिङ तहसनहस पार्न सक्छन् । वैभवलाई त विश्व क्रिकेटमा उदाएका अविश्सनीय प्रतिभाका रूपमा हेरिएको छ । उनको हिटिङ पावर अविश्वसनीय छ ।
भारतसँग रहेका अर्का विष्फोटक ब्याट्सम्यान हुन् रिंकु सिंह । उनी फिनिसरका रूपमा चिनिन्छन् । राष्ट्रिय टिमबाट समेत थुप्रै म्याच खेलिसकेका उनीसँग पनि ठूला सटहरू खेल्ने क्षमता छ ।
उनीहरूका अतिरिक्त प्रभसिमरन सिंह, शाहबाज अहमद, विप्रज निगम, तनुष कोटियन, सुर्यांश सेज र प्रिन्स यादवजस्ता आइपीएलका स्टार खेलाडी पनि भारतीय टोलीमा छन् । ब्याटरको तुलनामा भारतको बलिङ युनिट कम अनुभवी छ । हर्षित राना, प्रिन्स यादव र हर्ष दुवे राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी हुन् ।
नेपालका मुख्य खेलाडीको अनुपस्थिति
नेपालको चुनौती भने आफ्नो पूर्ण टोली मैदानमा उतार्न नसक्नु हो । एनपीएलको प्लेअफसित तालीका जुधेपछि नेपालले प्रमुख खेलाडीहरू पठाउन सकेको छैन ।
एनपीएलमा विभिन्न टिमको कप्तानी गरिरहेका रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र करण केसीलाई राइजिङ स्टारका लागि घोषित टिममै राखिएन । अलराउन्डर गुल्शन झा चोटका कारण टिममा परेनन् । टीममा परेका सोमपाल कामी पनि म्याअघि चोटका कारण बाहिरिएका छन् । उनको स्थानमा प्रतिश जिसीलाई मौका दिइएको छ । अनुभवी खेलाडीहरू भीम सार्की तथा आरिफ शेख र आसिफ शेख दाजुभाइलाई पनि खराब फर्मका कारण टिममा राखिएको छैन ।
एनपीएलको प्लेअफका कारण टोलीमा परेका केही खेलाडी समयमै कतार पुग्न सकेनन् । एनपीएलको प्लेअफमा व्यस्त रहेका सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल सुरुमै टोलीसँग कतार जान नपाएका हुन् । लुम्बिनी लायन्स फाइनलमा पुगेकाले जोरा र अभिषेकले भारतसँगको खेल गुमाउने निश्चित भएको छ । यस्तै सुदुरपश्चिमका डा. इशान पाण्डे पनि भारतविरुद्धको म्याचमा छुट्ने भएका छन् । राशिद खान र देव खनालको टोली प्लेअफबाट बाहिरिइसके पनि उनीहरू कतार गए-नगएकोबारे जानकारी दिइएको छैन । माथिल्लो क्रममा ब्याटर अभाव भएपछि युवा मयन यादवलाई थपिएको छ ।
नेपालको आशा : सन्दीपको स्पिन र कुशलको ब्याटिङ
नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी कप्तान सन्दीप लामिछाने नै हुनेछन् । भारतीय ब्याटहरूलाई रोक्न उनको लेग स्पिन महत्त्वपूर्ण बन्न सक्छ । उनलाई अनुभवी ललित नारायण राजवंशीले साथ दिनेछन् ।
सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेटको शैली र त्यहाँका ब्याटरहरूको क्षमतासँग उनी परिचित छन् । त्यसैले भारतविरुद्धको खेलमा उनको अनुभव उपयोगी हुन सक्छ ।
नेपालको ब्याटिङ भने ओपनर कुशल भर्तेलमा धेरै निर्भर हुने देखिन्छ । उनले आक्रामक सुरुवात गरेमा भारतमाथि दबाब सिर्जना हुन सक्छ । कुशलको जोडीका रूपमा सम्भवतः अर्जुन कुमाललाई मैदानमा उतारिने छ । एनपीएलमा उत्कृष्ट फर्ममा रहेका लोकेश बमबाट पनि धेरै आशा राखिएको छ । मध्यक्रममा दीपेन्द्र-रोहीतको अनुपस्थितिमा पवन सर्राफ, बसिर अहमदजस्ता युवा खेलाडीले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
बलिङतर्फ नेपालको स्पिन आक्रमण बलियो नै छ । सन्दीप र ललितको जोडीलाई अलराउन्डरका रूपमा कुशल, बसिर र पवनले साथ दिन सक्छन् । फास्ट बलिङतिर भने अनुभवको कमि छ । सोमपाल र करणको अनुपस्थितिमा नन्दन यादव, प्रतिश जिसी र रसिद खानले फास्ट बलिङको जिम्मेवारी लिनुपर्ने छ ।
५० ओभरको रणनीति
यसपटकको एसिया कप राइजिङ स्टार्स अघिल्ला दुई संस्करणभन्दा फरक छ । यसअघिका दुई संस्करण टी–२० प्रारूपमा खेलिएका थिए । तर यसपटक प्रतियोगिता ५० ओभरको प्रारूपमा हुँदैछ ।
टी–२० मा जस्तो सुरुदेखि नै आक्रामक ब्याटिङ गर्नुभन्दा ५० ओभरमा इनिङ्स निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ । सुरुवाती विकेट जोगाउँदै मध्य ओभरमा रन गति कायम राख्नु र अन्तिम १० ओभरमा आक्रामक हुनु दुवै टोलीका लागि आवश्यक हुनेछ ।
नेपालले भारतलाई चुनौती दिन सुरुवाती ओभरमा विकेट लिनुपर्नेछ । अभिषेक शर्मा, वैभव सूर्यवंशी र प्रभसिमरन सिंहजस्ता ब्याटरलाई लामो समय क्रिजमा टिक्न दिनु नेपालको बलिङका लागि जोखिमपूर्ण हुन सक्छ ।
अर्कोतर्फ भारतका बलरविरुद्ध नेपाली ब्याटरले अनावश्यक जोखिम नलिई साझेदारीमा जोड दिनुपर्नेछ । विशेषगरी मध्यक्रमले जिम्मेवारीपूर्वक खेल्न सके नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउन सक्छ ।
नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपालले आज भारतसँग खेलेपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । सेमिफाइनल नोभेम्बर २६ र २७ मा तथा फाइनल नोभेम्बर २९ मा हुनेछ ।








