जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन तीन राजनीतिक दलले प्रदेश प्रमुखसँग थप समय माग गरेका छन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न उनीहरूले आग्रह गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले आज अपराह्न ४ बजेसम्मको समयसीमा निर्धारण गरेको थियो। उक्त समय सकिनै लाग्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले थप समय माग गर्दै प्रदेश प्रमुखसमक्ष आग्रह गरेका हुन्।
यसका लागि नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता युवराज भट्टराई प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
तीन दलबीच आवश्यक छलफल भइरहेको र सहमति जुटाउन थप समय आवश्यक रहेको भन्दै संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठनको दाबी पेस गर्ने समय बढाउन उनीहरूले अनुरोध गरेका छन्।
प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल जारी रहेको छ।








