काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई थप अधिकारसम्पन्न र स्वायत्त बनाउनुपर्ने बताएका छन्। स्थानीय तह बलियो भए मात्रै विकास निर्माणले गति लिने र जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने उनको भनाइ छ।
शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको सवलीकरणको सुरुवात एमाले नेतृत्वको २०५१ सालको सरकारले गरेको दाबी गरे।
‘स्थानीय तहको सवलीकरणका कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन,’ उनले भने, ‘त्यतिबेला जनश्रमदानमार्फत गाउँगाउँमा सडक र नहर निर्माण गर्ने कामको थालनी एमालेले नै गरेको हो।’
ओलीले स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए। स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदा देशलाई कुनै नोक्सानी नहुने उल्लेख गर्दै उनले स्थानीय सरकारलाई थप स्वायत्तता दिनुपर्ने बताए।
राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू सबै गाउँगाउँमा पुग्न सम्भव नहुने भन्दै उनले राज्यको प्रतिनिधिका रूपमा स्थानीय जनप्रतिनिधिहरू जनताको घरदैलोसम्म पुग्नुपर्ने धारणा राखे।
स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रम जारी रहेको छ।








