काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए उनीहरूको शव नेपाल पठाउने जिम्मेवारी रोजगारदाताले नै लिनुपर्ने बताएका छन्।

मन्त्रालयमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क जे क्युङसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन्। भेटमा नेपाल र दक्षिण कोरियाबीच श्रम तथा रोजगार क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा मन्त्री यादवले श्रम सहकार्यसम्बन्धी समझदारीपत्र नवीकरणका लागि नेपाल सरकारले पठाएको प्रस्तावलाई छिटो टुङ्ग्याउन कोरियाली पक्षसँग आग्रह गरे। उनले उक्त प्रस्तावबारे यथाशीघ्र जवाफ उपलब्ध गराउन पनि अनुरोध गरे।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकको सीप, ज्ञान र अनुभवलाई स्वदेशमै रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले सरकारले ‘रिटर्नी कनेक्ट एप’ सञ्चालनमा ल्याउन लागेको जानकारी गराउँदै त्यसमा कोरियाली पक्षको सहकार्य माग गरे।

भेटमा नेपाली श्रमिकको अधिकार तथा कल्याणको संरक्षण, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, सीप विकास तथा स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरणका अवसर विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय