काठमाडौँ । काठमाडौँ र झापाबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँबाट दुई जना र झापाबाट एक जनालाई नियन्त्रणमा लिएको हो।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २९ वर्षीय दिपेश थापा र बझाङको सुर्मा गाउँपालिका–३ का २६ वर्षीय सञ्जय बोहरा रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले शुक्रबार ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ बाट ९ सय मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय भुपेश उराव पक्राउ परेका छन्। स्थानीय बासिन्दा उरावलाई शुक्रबार दिउँसो अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको छ।








