काठमाडौँ । आफूलाई सिभिल प्रहरी भएको दाबी गर्दै डान्सबारका सञ्चालक तथा कर्मचारीलाई धाकधम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्दै आएका २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरू बिहीबार राति करिब साढे १२ बजे काठमाडौँ महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्सबारमा प्रवेश गरेका थिए। त्यसक्रममा आफूहरू सिभिल प्रहरी भएको भन्दै सञ्चालक तथा कर्मचारीसँग विवाद गर्नुका साथै डरत्रास र धाकधम्की देखाएको आरोप छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








