काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डको जोखिमयुक्त घोप्टेभीर कटान गर्न दैनिक चार घण्टा सवारी आवागमन रोक्ने तयारी गरिएको छ।
सडक माथिबाट निरन्तर ढुङ्गा र माटो खस्ने क्रम नरोकिएपछि सम्भावित पहिरोको जोखिम न्यूनीकरण गर्न भीरको माथिल्लो भाग नै काटेर व्यवस्थापन गर्न लागिएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर अशोक देवकोटाका अनुसार सडकलाई सुरक्षित बनाउन भीर कटान तथा रोकथामको काम अघि बढाउनुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्ने तयारी गरिएको हो।
आयोजनाका अर्का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार जोखिमयुक्त भाग कटान र सडक सफाइका लागि दैनिक चार घण्टा यातायात बन्द गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको छ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले समेत उक्त क्षेत्रको स्थलगत निरीक्षण गरिसकेको छ। सडक बन्द गर्ने विषयमा प्रशासनको औपचारिक निर्णय आउन भने बाँकी रहेको आयोजनाले जनाएको छ।
प्रशासनबाट निर्णय प्राप्त भएपछि सडक बन्द हुने मिति, समय र अवधिबारे औपचारिक सूचना जारी गरिनेछ।








