एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्य गर्ने सहमति भए युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सकारात्मक बनाउन सकिने संकेत दिएका हुन्। बैठकमा सहभागी अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएका छलफलबारे युरोपेली नेताहरूलाई जानकारी गराएका थिए।

कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरह सुरक्षा ग्यारेन्टी उपलब्ध गराउने पक्षमा सकारात्मक छन्। तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल हुनुका साथै व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उनको धारणा छ। कुनै पनि सम्झौता युक्रेन र युरोपेली मुलुकहरूसँगको परामर्शमा मात्रै अघि बढाइने उनले स्पष्ट पारेका छन्।

नेटोको धारा ५ अनुसार गठबन्धनका कुनै एक सदस्य राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ। युक्रेनले भविष्यमा रुसी आक्रमण रोक्न यस्तै भरपर्दो सुरक्षा व्यवस्था माग्दै आएको छ। तर, रुसले आफ्नो सीमाक्षेत्र नजिक नेटोको सैन्य प्रभाव विस्तार हुन नदिन चाहेको छ। प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा दुवै पक्षको सहमति हुने विषय भने अझै टुंगिएको छैन।

यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने करिब १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयास थप जटिल बनाएको छ।

रुसी राष्ट्रपति पुटिनले आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको बताएका छन्। चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आक्रमणको जवाफ दिने चेतावनीसमेत दिएका छन्। सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियासँग जोड्ने उक्त पुल रुसी सेनाका लागि सैन्य सामग्री तथा आपूर्ति ओसारपसार गर्ने महत्वपूर्ण मार्ग मानिन्छ।

आक्रमणपछि रातभर अवरुद्ध भएको रेल सेवा बिहीबार दिउँसो पुनः सञ्चालन गरिएको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ। युक्रेनको रक्षा मन्त्रालयले भने उक्त आक्रमणले रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुर्‍याउने दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार बिहीबार राति देशका १० क्षेत्रमा ५३ वटा युक्रेनी ड्रोन खसालिएका थिए। साराटोभ क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको स्थानीय गभर्नर रोमन बुसार्गिनले बताएका छन्। त्यस्तै, ब्रायन्स्क क्षेत्रमा आठ वर्षीय नातिसँग साइकलमा रहेकी एक महिलाको पनि ड्रोन आक्रमणमा मृत्यु भएको जनाइएको छ।

उता, युक्रेनी अधिकारीहरूका अनुसार रुसले एन्टी–शिप क्षेप्यास्त्र र ९८ वटा ड्रोन प्रहार गर्दा १८ स्थानमा आक्रमण भएको थियो। रुसी आक्रमणबाट युक्रेनका १२ क्षेत्रमा क्षति पुगेको तथा दुई जनाको मृत्यु र कम्तीमा २३ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ। किएभस्थित नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावासमा समेत सामान्य क्षति पुगेको बताइएको छ।

युद्धमा रुसले सैनिक तथा सैन्य स्रोतसाधनको संख्यात्मक क्षमताका आधारमा युक्रेनमाथि दबाब बढाउने रणनीति अपनाइरहेको छ। युक्रेनले भने ड्रोन प्रविधिको प्रयोगमार्फत रुसी सेनाको अग्रगमन रोक्ने प्रयास गर्दै आएको छ।

जाडोयाम नजिकिँदै गर्दा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ। त्यसको जवाफमा युक्रेनले लामो दूरीका ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी रुसी तेल प्रशोधन केन्द्रलगायतका संरचनामा प्रहार गरिरहेको छ।

यसअघि चीनमा भएको भेटवार्ताका क्रममा ट्रम्पले पुटिनलाई ‘मित्र’ सम्बोधन गरेपछि युरोपेली सहयोगीहरूमा चिन्ता बढेको छ। ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्बन्धसमेत पछिल्लो समय कमजोर बन्दै गएको बताइएको छ। ट्रम्प र पुटिनबीचको प्रत्यक्ष वार्ताले युक्रेन युद्धसम्बन्धी निर्णय प्रक्रियाबाट आफूहरू बाहिरिन सक्ने आशंका युरोपेली नेताहरूले व्यक्त गरेका छन्।

कुशनरले भने ट्रम्पले पुटिन र सी जिनपिङ दुवैलाई शान्तिका लागि स्पष्ट सन्देश दिएको बताएका छन्। पुटिनले पनि युक्रेन युद्धसम्बन्धी वार्तामा युरोपेली सहभागिताको विरोध नगरेको तर युरोपले आफ्नो भूमिका स्पष्ट पार्नुपर्ने धारणा राखेको जनाइएको छ।

यसैबीच, क्रेमलिनले युरोपेली अधिकारीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न मस्को भ्रमणको निम्तो दिएको छ। यद्यपि, उक्त भ्रमणको मिति भने तय भइसकेको छैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय