एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि देशमा अस्थिरता फैलाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

भारतसँग सीमा जोडिएको बंगलादेशको उत्तरपश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरूले हिंसा, आगजनी र हत्यामार्फत देशको शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोप लगाए।

शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेपछि बंगलादेशका विभिन्न क्षेत्रमा हिंसात्मक घटना भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार प्रतिबन्धित अवामी लिगका नेता तथा समर्थक र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीच भएका झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

यसैबीच, पूर्वअन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको पैतृक घरमा समेत आगजनी गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसी बंगलाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किरहेका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या भएको थियो। प्रहरीले उक्त घटनामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको जनाएको छ।

न्यू एज अखबारका अनुसार बिहीबारसम्म बंगलादेशका १८ जिल्लामा हिंसात्मक गतिविधि फैलिएको छ। मंगलबार रातिदेखि नै विभिन्न स्थानमा आगजनी, तोडफोड र विस्फोटका घटना भइरहेका छन्।

हिंसाका क्रममा सार्वजनिक बस, प्रहरी चौकी, बीएनपीका नेता तथा कार्यकर्ताका घर, पार्टी कार्यालय र बैंकका शाखाहरूलाई समेत निशाना बनाइएको समाचारमा उल्लेख छ।

राजनीतिक दलहरूबीचको बढ्दो तनावसँगै बंगलादेशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय