काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहीले पार्टीमा पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरण आवश्यक रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले पार्टीका अग्रज नेताहरूको अनुभव र योगदानको सम्मान गर्दै उनीहरूलाई अभिभावकीय भूमिकामा राखेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । युवाको जोश र अग्रज नेताहरूको अनुभवलाई समेटेर पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
शाहीले पार्टीभित्र रहेका गुट–उपगुटको अन्त्य गर्दै राप्रपालाई जनताको विश्वास जित्न सक्ने पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । पार्टीका विचार, सिद्धान्त र राजनीतिक एजेन्डालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
राप्रपाको आठौँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि शाहीको उम्मेदवारीले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ ।








