काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलमा बोल्दै उनले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनका विषयमा विभिन्न गुनासा आउने गरेको उल्लेख गर्दै प्रचण्डले आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउनुपर्ने बताए ।

उनले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाएका छन् । यसका लागि आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था मिलाउन र नेपालीको ठूलो संख्या रहेका देशसँग सरकारले संवाद गर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचन तालिकाबारे बोल्दै प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताए । यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर मात्रै अन्तिम धारणा बनाउने उनले स्पष्ट पारे ।

निर्वाचनको विश्वसनीयता कायम राख्न मतदाताको अधिकार, पारदर्शी प्रक्रिया र प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय