काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन्।
शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन सञ्चालनमा आयोगको महत्वपूर्ण भूमिका रहे पनि निष्पक्षताको प्रत्याभूति गर्ने दायित्व सरकारको भएको स्पष्ट पारे।
‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ, तर त्यो सीमित छ,’ उनले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ।’
थापाले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग आवश्यक संवाद र समन्वय गर्नुपर्नेमा जोड दिए। राजनीतिक दलहरूलाई बेवास्ता गरेर सरकार अघि बढ्न खोजे निर्वाचन प्रक्रियामा समस्या आउन सक्ने उनको भनाइ थियो।
उनले निर्वाचनको तयारी, खर्च र समयतालिकाका विषयमा सरकारले दलहरूसँग छलफल गरी साझा समझदारी निर्माण गर्नुपर्ने बताए।
त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था टुंग्याउन पनि आफूहरूले सुझाव दिएको उनले जानकारी दिए।








