काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१ अंकमा झरेको हो। अघिल्लो कारोबार दिन नेप्से ३.६२ अंकले बढेको थियो।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये ८९ वटाको सेयर मूल्य बढ्दा १८१ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। अघिल्लो दिन ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस दिन बैंकिङ समूहको सूचक ०.४० प्रतिशतले बढेको छ भने अन्य सबै समूहका सूचक घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.३९ प्रतिशतले ओरालो लागेको छ।
त्यस्तै जीवन बीमा समूह ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८१ प्रतिशत, अन्य समूह ०.७८ प्रतिशत र फाइनान्स समूह ०.५९ प्रतिशतले घटेका छन्। विकास बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहमा समेत गिरावट देखिएको छ।
कम्पनीगत रूपमा दोल्ती पावरको सेयर मूल्य सबैभन्दा बढी ५.४१ प्रतिशतले बढेको छ। भूगोल इनर्जीको ४.२६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ प्रतिशत र एभरेस्ट कलरको २.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यता पाल्पा सिमेन्टको सेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ। स्वस्तिक लघुवित्तको ५.०५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ प्रतिशत र त्रिशूली जलविद्युत्को ३.२४ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, श्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन्।








