काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन्।

शुक्रबार स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले आयोजना गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै सुझाव नलिइएको प्रसंगमा थापाले असन्तुष्टि जनाए। सरकारले सुझाव नै नमागेपछि आफूहरूले धारणा राख्नुको औचित्य नरहेको उनको भनाइ थियो।

‘माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ? निर्वाचनका बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ?’ उनले प्रश्न गरे।

थापाले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था स्पष्ट रहेको उल्लेख गर्दै निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको बताए। सरकारले राजनीतिक दलहरूसँग निर्वाचनका विषयमा संवाद र छलफल गरे कांग्रेसले पनि आफ्नो धारणा प्रस्तुत गर्ने उनले स्पष्ट पारे।

संविधानअनुसार चैत–वैशाखमा निर्वाचनको मिति घोषणा हुने र त्यसपछि स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढ्ने थापाको भनाइ छ। प्रदेशलगायत अन्य तहका निर्वाचन पनि संविधानले निर्धारण गरेको समयअनुसार हुने उल्लेख गर्दै उनले कांग्रेस आफ्नै ढंगले निर्वाचनको तयारीमा जुटिरहेको जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय