काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
भेटमा समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर तथा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जा सहभागी थिए।
मन्त्री गौतमको सचिवालयका अनुसार भेटका क्रममा नेपाल र फ्रान्सबीचको संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा विधेयक पारित गर्ने कार्यविधिबारे अनुभव आदानप्रदान भएको थियो।
छलफलमा कानुन निर्माणका क्रममा सांसदहरूले प्रविधिको प्रयोग गर्ने तरिका र संसदमा विधेयक स्वीकृतिका लागि अपनाइने प्रक्रियाबारे पनि कुराकानी भएको जनाइएको छ।
सो अवसरमा मन्त्री गौतमले फ्रान्समा पछिल्लो समय भएका प्रदर्शनका घटनाप्रति चिन्ता व्यक्त गरेकी थिइन्। फ्रान्सेली प्रतिनिधिमण्डलले भने नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको थियो।
भेटमा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको थियो।
दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध तथा संसदीय सहकार्यलाई थप सुदृढ बनाउँदै आपसी समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।








