काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचन राजनीतिक प्रतिस्पर्धाको महत्वपूर्ण थलो बन्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालयमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहबाटै जनताको समर्थन र असन्तुष्टि प्रकट हुने भएकाले निर्वाचनलाई विशेष रूपमा लिनुपर्ने बताएका हुन्।
‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँबाट हुन्छ । त्यसैले अहिले लडाइँको थलो स्थानीय तहको निर्वाचन बन्नेवाला छ,’ उनले भने।
ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकालमा भएका कमजोरी समयमै सुधार गर्न पनि निर्देशन दिए। विगतमा भएका कमी–कमजोरी सच्याउँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।
‘यदि पौने चार वर्षजति पोखियो भने हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस्,’ ओलीले जनप्रतिनिधिहरूलाई निर्देशन दिँदै भने।








