काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेको छ ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । यससँगै यूएईले पहिले ब्याटिङ गर्नेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग निराशाजनक प्रदर्शन गरेको थियो । उक्त खेलमा नेपाल २६ रनमै समेटिएको थियो । यता यूएईले पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग हार बेहोरेको थियो ।
आजको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक महत्त्वको छ । यो नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो । नेपालले अहिलेसम्म यूएईविरुद्ध नै सबैभन्दा बढी ओडीआई खेलेको छ ।
दुई टोलीबीच यसअघि भएका २० ओडीआई खेलमध्ये नेपालले १२ खेल जितेको छ भने यूएईले आठ खेलमा सफलता हासिल गरेको छ । यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ ।
नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै एसिया कपमा स्थान सुरक्षित गरेको थियो ।
हालसम्म खेलेका ९९ ओडीआईमध्ये नेपालले ४९ खेलमा जित निकालेको छ । ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन ।
आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औँ ओडीआई खेललाई ५०औँ जितसँगै ऐतिहासिक बनाउन सक्नेछ ।








