काठमाडौं । क्यान्सर रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा रोगसँग संघर्ष गरेर निको भएका व्यक्तिहरूको साहस र योगदानलाई सम्मान गर्ने उद्देश्यले ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज २०२६’ आयोजना हुने भएको छ ।

एन्ट फाउन्डेसनको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमको मुख्य समारोह आगामी नोभेम्बर २८ अर्थात् मंसिर १२ गते काठमाडौंको नन्दिकेश्वर बगैँचा (नारायण चौर) मा आयोजना गरिनेछ ।

‘लेट्स वाक टुगेदर फर क्यान्सर अवेयरनेस’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रमको यो छैटौँ संस्करण हो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष प्रशान्त ताम्राकारले क्यान्सरविरुद्धको सचेतना अभियानमा सबै क्षेत्र र समुदायको सहभागिता आवश्यक रहेको बताए ।

आयोजकका अनुसार मुख्य कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई उद्घाटनका लागि आमन्त्रण गरिएको छ ।

सन् २०२१ मा स्थापना भएको एन्ट फाउन्डेसनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसअघि पाँच संस्करण सम्पन्न भइसकेको उक्त अभियानले मोडल, कलाकार, सार्वजनिक व्यक्तित्व, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई समेत जोड्दै आएको आयोजकले जनाएको छ ।

सचेतनाका लागि साइकल र मोटरसाइकल र्‍याली

अभियानअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन भइरहेका छन् । गत मंसिर ५ गते ‘पेडल फर प्रिभेन्सन’ नारासहित आयोजना गरिएको साइकल र्‍यालीमा ४५० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुरुवात गरेको उक्त र्‍याली काठमाडौं हुँदै पाटन दरबार स्क्वायरसम्म पुगेको थियो ।

त्यसैगरी ‘एक्सेलेरेट फर क्यान्सर अवेयरनेस’ अभियानअन्तर्गत आयोजित मोटरसाइकल र्‍यालीमा ७० भन्दा बढी बाइकर सहभागी भएका थिए । भक्तपुर र कीर्तिपुर क्षेत्रलाई समेटेर सञ्चालन गरिएको उक्त र्‍यालीमार्फत पनि क्यान्सर सचेतनाको सन्देश प्रवाह गरिएको थियो ।

आयोजकले नोभेम्बर २३ अर्थात् मंसिर ८ गते ‘रन फर रेजिलियन्स’ नामक दौड कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ । उक्त दौडमा ३०० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ ।

फेसन शो, पदयात्रा र सांगीतिक प्रस्तुति मुख्य आकर्षण

मंसिर १२ गते हुने मुख्य कार्यक्रममा सामूहिक पदयात्रा, प्यानल छलफल, फेसन रनवे, सांगीतिक प्रस्तुति तथा स्थानीय उत्पादनका स्टलहरू राखिनेछन् ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ‘ग्राण्ड सोलिडारिटी वाक’ आयोजना गरिनेछ । पदयात्रामा क्यान्सरलाई जितेका व्यक्ति, चिकित्सक, कलाकार, सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ । पदयात्रामा सहभागी हुन प्रतिव्यक्तिले एक हजार रुपैयाँ योगदान गर्नुपर्नेछ भने ‘खल्ती बाइ आईएमई’ एपमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, क्यान्सर सचेतना र सामाजिक जिम्मेवारीका विषयमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने प्यानल छलफल पनि सञ्चालन हुनेछ । फेसनलाई मनोरञ्जन र सौन्दर्य प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक सन्देश प्रवाहको माध्यम बनाउने उद्देश्यले विशेष फेसन रनवे प्रस्तुत गरिने आयोजकको भनाइ छ ।

कार्यक्रममा आशा, साहस र सामुदायिक एकताको सन्देश दिने सांगीतिक प्रस्तुति तथा स्थानीय व्यवसाय र उद्यमीका उत्पादन प्रवर्द्धन गर्ने स्टलहरू पनि रहनेछन् ।

कार्यक्रममा निःशुल्क प्रवेश

आयोजकका अनुसार मुख्य समारोहमा सबैका लागि प्रवेश निःशुल्क रहनेछ । व्यक्तिगत रूपमा सहभागी हुन चाहने व्यक्ति, परिवार, शैक्षिक संस्था, सामाजिक संघसंस्था, युवा समूह तथा विभिन्न व्यावसायिक संस्थालाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

क्यान्सर प्रभावित व्यक्ति तथा परिवारलाई सामाजिक साथ र सहयोग उपलब्ध गराउनुका साथै रोगबारे खुला छलफल, समयमै पहिचान र सामूहिक जिम्मेवारीको भावना विकास गर्नु अभियानको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम एन्ट फाउन्डेसन र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको हो । यसमा विभिन्न व्यावसायिक संस्था, सामाजिक संघसंस्था तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरू साझेदारका रूपमा जोडिएका छन् ।

‘वाक फर होप, स्ट्यान्ड फर करेज, मेक अ डिफरेन्स’ भन्ने सन्देशसहित सञ्चालन हुन लागेको यस अभियानले क्यान्सरविरुद्धको सचेतना विस्तार गर्नुका साथै प्रभावित व्यक्तिहरूलाई समाजबाट साथ र हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय