काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्।

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको उल्लेख गर्दै उनले विगतमा देखिएका ढिलासुस्ती र अवरोध अन्त्य गरी प्रतियोगितालाई नियमित बनाइने बताएका हुन्।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको प्रतियोगिताका अहिलेसम्म नौ संस्करण मात्रै सम्पन्न हुनु दुःखद रहेको उनको भनाइ छ। नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली खेलकुदमा सिर्जना गरेको उत्साहलाई राष्ट्रिय खेलकुदमा समेत निरन्तरता दिनुपर्ने उनले बताएका छन्।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका केही प्रतिस्पर्धा मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुने तालिका छ।

खेलकुदलाई व्यावसायिक र सशक्त क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले खेलाडी, खेलप्रेमी तथा सरोकारवालासँग सहकार्यको अपेक्षा गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय