नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने करिब ६०० जना बिरामी परेका छन् । बिरामीहरूको विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो । यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ ।
स्थानीय सरकारी अधिकारीका अनुसार विषाक्त मदिरा सेवनपछि प्रभावित भएकाहरूको उपचार भइरहेको छ । भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार करिब ६०० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
मणिपुरका वरिष्ठ स्थानीय सरकारी अधिकारी हुन्ग्यो वोरसाङले जिल्ला प्रशासन, प्रहरी, अन्तःशुल्क तथा स्वास्थ्य विभागका टोलीले प्रभावित क्षेत्र र अस्पतालको अनुगमन गरी आवश्यक सहयोग उपलब्ध गराइरहेको जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन मणिपुर सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ । समितिलाई घटनाको कारण, सम्भावित लापरबाही तथा कमजोरी पहिचान गरी आवश्यक कारबाहीका लागि सुझावसहित एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
अधिकारीहरूले शंकास्पद मदिरामा विषाक्त पदार्थ मिसिएको वा नमिसिएको पुष्टि गर्न नमुना संकलन गरी फरेन्सिक परीक्षणका लागि पठाएका छन् ।
यसैबीच, घटनापछि सम्भावित विषाक्त मदिरा सेवनबाट हुने जोखिमलाई मध्यनजर गर्दै मणिपुरको स्वास्थ्य विभागले सार्वजनिक स्वास्थ्यसम्बन्धी सचेतना सूचना जारी गरेको छ ।
विभागले सरकारी तथा निजी स्वास्थ्य संस्थालाई सतर्क रहन, प्रभावित बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन र आवश्यक परे अन्य अस्पतालमा पठाउन निर्देशन दिएको छ । साथै, यस्ता शंकास्पद घटनाको विवरण अनिवार्य रूपमा उपलब्ध गराउनसमेत स्वास्थ्य संस्थाहरूलाई आग्रह गरिएको छ ।








