काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी आठौँ महाधिवेशनबाटै ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीले विधान संशोधनमार्फत १० पुरुष र १० महिला गरी २० जना युवाको प्रतिनिधित्व केन्द्रीय कार्यसमितिमा सुनिश्चित गर्ने तयारी गरेको हो ।

सातौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले अघि सारेको ‘नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत खुला प्रतिस्पर्धाबाट ४० वर्षमुनिका २० जना युवा केन्द्रीय कार्यसमितिमा समेटिएका थिए । यसपटक भने युवाको सहभागितालाई विधानमै व्यवस्था गरेर सुनिश्चित गर्न लागिएको पार्टीले जनाएको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले संशोधित विधानमा युवाको प्रतिनिधित्वसम्बन्धी प्रस्ताव समावेश गर्न छलफल भइरहेको जानकारी दिएका छन् ।

आठौँ महाधिवेशनको तयारीस्वरूप राप्रपाले देशभर संगठनात्मक गतिविधि तीव्र पारेको छ । पार्टीका अनुसार ७५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । त्यसपछि असोज २१ गते सातै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको थियो ।

महाधिवेशनका लागि मंसिर ४ देखि १० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ । जसमा तीन महिला, एक उत्पीडित समुदायबाट र दुई जना विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गर्नेछन् । बाँकी तीन जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् ।

प्रतिनिधि छनोट प्रक्रियामा ४० वर्षमुनिका युवाको सहभागितालाई समेत अनिवार्य गरिएको पार्टीले जनाएको छ ।

राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय