जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सर्वदलीय सरकार गठन गर्ने बताएका छन् ।

पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले सबै राजनीतिक दललाई समेटेर समावेशी सरकार निर्माण गर्ने आफ्नो योजना रहेको बताए ।

उनले संविधानमा व्यवस्था भएअनुसार प्रदेशसभाबाट विश्वासको मत लिने र सरकारमा सबै दलको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिने पनि स्पष्ट पारे ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादव मधेश प्रदेशको सातौँ मुख्यमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरिएको थियो । तर, निर्धारित समयभित्र कुनै पनि दलले सरकार गठनका लागि आवश्यक दाबी पेस गर्न नसकेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यादव दोस्रोपटक मधेश प्रदेशको मुख्यमन्त्री बनेका हुन् । यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि पहिलो मुख्यमन्त्री बनेका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा भने उनले सभामुखको जिम्मेवारी सम्हालेका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवको सर्वदलीय सरकार गठन गर्ने घोषणाले मधेश प्रदेशमा आगामी राजनीतिक समीकरण र सत्ता सहकार्य कस्तो हुने भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय