नयाँ दिल्ली । नेपालले प्रस्ताव गरेको थप हवाई रुट उपलब्ध गराउने विषयमा भारतले अझै सहमति जनाएको छैन । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटाउने नेपालको प्रयास भए पनि दुई देशबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहको भ्रमणअघि नेपाल र भारतका सरकारी अधिकारीहरूबीच थप हवाई रुटका विषयमा छलफल भएको थियो । तर, भारतीय पक्षले नेपालको प्रस्तावमा सहमति नजनाएको वार्तामा सहभागी एक नेपाली अधिकारीले बताएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहुलियतपूर्ण ऋण तथा अनुदानमार्फत आर्थिक सहयोग उपलब्ध गराउने विषयमा भने भारत सकारात्मक देखिएको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच सोमबार हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा आर्थिक सहयोगसम्बन्धी प्रस्तावमा छलफल हुने बताइएको छ ।
थप हवाई रुटको विषयमा भने दुवै पक्षबीच केही प्राविधिक तथा सुरक्षा सम्बन्धी मतभेद देखिएका छन् । भारतीय पक्षले बागडोगरा प्रवेश बिन्दु हुँदै आफ्ना सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव राखेपछि वार्ता थप जटिल बनेको नेपाली अधिकारीको भनाइ छ ।
नेपालले भने उक्त रुटबाट नागरिक विमानलाई मात्र उडान अनुमति दिन सकिने अडान राखेको छ ।
त्यसैगरी, भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने विमानको उडान उचाइका विषयमा पनि दुई देशबीच सहमति जुट्न सकेको छैन । भारतले ३९ हजार फिट उचाइ प्रस्ताव गरेको छ भने नेपालले त्यसलाई घटाएर करिब २९ हजार फिट कायम गर्नुपर्ने धारणा राखेको छ ।
थप हवाई रुट उपलब्ध भएमा नेपाल आउने अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउनुका साथै उडान समय र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, यस विषयमा अन्तिम सहमति हुन बाँकी रहेकाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुने वार्तालाई चासोका साथ हेरिएको छ ।








