काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार दुवै विधाका प्रतिस्पर्धा आगामी मंसिर ८ गतेदेखि सुरु हुनेछन्।
पुरुषतर्फ सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। महिलातर्फ भने एनआरएनए र नेपाल पुलिस क्लबले सहभागिता जनाएका छैनन्।
पुरुषतर्फको उद्घाटन खेलमा मंसिर ८ गते बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो १ः१५ बजे गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्।
महिलातर्फको पहिलो खेलमा मंसिर ८ गते बिहान ९ः३० बजे त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भिड्नेछन्। दोस्रो खेलमा दिउँसो १ः१५ बजे सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फका खेल सुर्खेतस्थित कालुन्चोक क्रिकेट मैदानमा सञ्चालन हुनेछन् भने महिलातर्फका खेल वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने तालिकामा उल्लेख छ।
पुरुषतर्फ सहभागी ११ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एनआरएनए छन्। समूह ‘बी’ मा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश रहेका छन्। त्यस्तै, समूह ‘सी’ मा एपीएफ, कोशी र बागमती प्रदेश तथा समूह ‘डी’ मा मधेश प्रदेश र नेपाल पुलिस क्लब छन्।
प्रत्येक समूहबाट शीर्ष स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
महिलातर्फ भने तीन समूह बनाइएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कोशी र कर्णाली प्रदेश छन्। समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र मधेश प्रदेश तथा समूह ‘सी’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेश रहेका छन्।
महिलातर्फ तीनवटै समूहका विजेता र समूहमा दोस्रो स्थान हासिल गर्ने टोलीमध्ये उत्कृष्ट अंक भएको एक टोली सेमिफाइनलमा पुग्नेछ।
तालिकाअनुसार महिलातर्फको फाइनल मंसिर १४ गते र पुरुषतर्फको फाइनल मंसिर १५ गते हुनेछ।









