काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी शक्तिको दबाब र प्रलोभनमा परेर नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष बनाइएको आरोप लगाएका छन्।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले धर्म र राजनीतिलाई एकअर्काबाट अलग गरेर हेर्न नहुने धारणा राख्दै नेपालको राजनीति, संस्कृति र राष्ट्रिय पहिचानमा धर्मको महत्त्वपूर्ण भूमिका रहेको बताए।
नेपालको मौलिक परम्परा, सभ्यता र सांस्कृतिक पहिचानको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापना आवश्यक रहेको उनको भनाइ थियो। नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गरेर धर्मनिरपेक्षताको निर्णय गरिएको उनले आरोप लगाए।
कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीले हिन्दुराष्ट्र स्थापनाको अभियानलाई सडक र सदन दुवैबाट सशक्त बनाउनुपर्ने बताइन्।
उनले धार्मिक गुरुहरूलाई पनि हिन्दुराष्ट्र स्थापनाको पक्षमा राजनीतिक दलका नेताहरूलाई दबाब दिन आग्रह गरिन्। हिन्दुराष्ट्रको मुद्दामा संसदभित्र राप्रपाले आवाज उठाउने तथा संसदबाहिर धार्मिक गुरुहरूले अभियानलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
लिङ्देन र ओलीले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्नेमा जोड दिएका छन्।








