काठमाडौँ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको छ। प्रतियोगितामा नेपालको यो पहिलो जित हो।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।

त्यस्तै मयन यादवले २७ रन बनाए। कुशलले मयनसँग तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। चौथो विकेटका लागि वसिर अहमदसँग ४३ रनको साझेदारी गरे। वसिर १८ र पवन सर्राफ ९ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा समेटिएको थियो। उसका लागि मुहम्मद सहदादले सर्वाधिक ४० तथा हरप्रित सिंहले ३२ रन बनाए। नोरुल्लाह अयोबीले १२ रन जोडे।

नेपालका लागि बलिङमा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट हात पारे।

यूएईका मुहम्मद मोसिनले २ तथा उडिस सुरी र अंश तन्डनले समान एक विकेट लिए।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो। यूएईविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय